बहुप्राविधिक शिक्षालयमा आतंक मच्चाउने चितुवा नियन्त्रणमा
टीकापुर, भदौ १९ । टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउँदै आएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
शिक्षालयभित्र भदौ १ गते बाख्रा र भदौ ३ गते कुकुर मारेपछि नियन्त्रणका लागि वन कार्यालयमार्फत निकुञ्जको सहयोग मागिएको थियो। निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान करिब २ बजे भाले चितुवा फसेर नियन्त्रणमा आएको शिक्षालय प्रमुख पारस खड्काले जानकारी दिए । नियन्त्रणमा आएको चितुवालाई बुधबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्जतर्फ लगिएको छ।
शिक्षालय परिसर कर्णाली नदी किनार र सामुदायिक वनसँग जोडिएकाले वन्यजन्तु सहजै प्रवेश गर्ने गरेको स्थानीय बताउँछन्। सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझाका अनुसार बाघको सङ्ख्या बढेकाले ठूलो जंगलमा चितुवाले बास गर्न नसकेर गाउँ नजिक आहार खोज्न आउने गरेका छन्।
चितुवा नियन्त्रणमा लिएपछि लामो समयदेखि त्रसित विद्यार्थी र प्रशिक्षकले सहज महसुस गरेको विद्यार्थी रामप्यारी कुँवरले बताए। यसअघि पनि २०८१ साउनमा राजीपुर, सत्ती लगायतका क्षेत्रमा चितुवा गाउँ पसेर बाख्रा मारेको घटना दोहोरिएको थियो।

