वैज्ञानिक समाजवादका लागि इमान्दार शक्तिबीच एकता आवश्यक: प्रचण्ड



काठमाडौँ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापना गर्न विचार मिल्ने इमान्दार शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अबको सङ्कल्प हुनुपर्नेमा जोड दिए। जनयुद्धमा महिलाको उल्लेखनीय योगदान स्मरण गर्दै उनले भने, “हजारौँ महिलाको सक्रियताबिनै सङ्घीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन।”

उनले जनताका बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्रहरू भइरहेको उल्लेख गर्दै परिवर्तनकारी शक्तिहरू एकजुट भएर त्यसलाई परास्त गर्नुपर्ने बताए। संविधानले चाहेजस्तो कार्यान्वयन नभए पनि सम्झौताको दस्तावेजका रूपमा आएको भन्दै उनले चिन्ता व्यक्त गरे, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा उपलब्धि उल्टिने खतरा देखिएको छ।”

देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता पुनः औंल्याउँदै अध्यक्ष दाहालले भने, “१० वर्षअघि नै हामीले जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने अडान राखेका थियौँ, अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ।”

कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्ण महिला अधिकारका लागि वैज्ञानिक समाजवादमा जानुपर्ने धारणा राखिन्। उनले उत्पादन स्रोतमा समान पहुँच र योगदानबाट मात्र महिला मुक्ति सम्भव हुने बताउँदै विचारमा निहित भेदभावविरुद्ध निरन्तर सङ्घर्ष आवश्यक रहेको उल्लेख गरिन्।

त्यस्तै, नेतृ शशि श्रेष्ठले संविधानले सुनिश्चित गरेका महिला अधिकारको रक्षा गर्न सम्पूर्ण महिला एकताबद्ध हुनुपर्नेमा जोड दिँदै भनिन्, “समतामूलक नेपाल निर्माणका लागि समानुपातिक समावेशी सिद्धान्तअनुसार महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ, संविधान संशोधनको क्रममा अधिकार खोसिने खतरा भएकाले खबरदारी जरुरी छ।”

भरतपुर महानगर प्रमुख रेनु दाहालले महिलाले आइसकेका जिम्मेवारी दक्षतापूर्वक पूरा गरिरहेको उल्लेख गर्दै थप अधिकार दिन कञ्जुस्याइँ गर्न नहुने धारणा राखिन्।

सम्मेलनकै अवसरमा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित पुस्तक ‘जुनकिरी हराएको रात’ को लोकार्पण पनि गरे।

प्रतिक्रिया दिनुहोस्