सहकारी रकम हिनामिनामा संलग्न सांसद गीता बस्नेत १५ लाख धरौटी बुझाएर रिहा



काठमाडौँ, भदौ १९ । सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।

नवलपुर जिल्ला अदालतमा बुधबार उपस्थित भएकी बस्नेतलाई धरौटीसहित रिहा गरिएको अदालतकी सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन्। एक वर्षअघि नै पक्राउ पुर्जी जारी भए पनि बस्नेत ढिलोगरी मात्र अदालतमा उपस्थित भएकी हुन्।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्था को रकम अपचलन गरेको अभियोगमा सांसद बस्नेतसहित उनका ज्वाई नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, अध्यक्ष गोपिकृष्ण शर्मा, शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

बस्नेतले आफ्ना ज्वाइँ र अन्य निकट व्यक्तिमार्फत चितवनको सनराइज बचत तथा ऋण सहकारी, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवलपुरको छिपछिपे उपभोक्ता सहकारी बाट रकम निकासी गरी हिनामिना गरेको प्रहरीको आरोप छ।

उनको लगानी रहेको बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टमा तीन जिल्लाका सहकारीको बचत रकम लगानी गरिएको प्रदेश रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको छ।

छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको छ। यसबारे अझै अनुसन्धान जारी रहेको जिल्ला अदालत नवलपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्