भारतमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता
कञ्चनपुर, भदौ १९ । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गरेको छ। साथै, सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको समितिले जनाएको छ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सतर्कता बढाइएको बताए। उनका अनुसार सचेतना अभियानमार्फत जोखिम न्यूनीकरण गर्ने प्रयास भइरहेको छ।
खड्काले भारतसँग सीमा जोडिएका दोधरा चाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
अधिक सतर्कता अपनाइएको कञ्चनपुरमा हालसम्म बर्डफ्लुको कुनै सङ्क्रमण नदेखिएको भए पनि जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्।

