चीनको सुरक्षानीति समर्थन नगरेको परराष्ट्रसचिव राईको स्पष्टिकरण
काठमाडौँ, भदौ १९ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि सुरक्षासम्बन्धी रणनीतिमा समर्थन नजनाएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणबारे जानकारी दिँदै राईले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)मा नेपालले समर्थन गरेको भए पनि अन्य कुनै विषयमा सहमति नजनाइएको बताए ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले चीनको जीएसआईलाई समर्थन गरेको दाबी गरिएको थियो। यसबारेमा स्पष्ट गर्दै राईले भने, “नेपालले चीनको ग्लोबल इनिसिएटिभलाई समर्थन गरेको हो, त्यसको संयुक्त राष्ट्रसंघमा ग्रुप अफ फ्रेन्ड गठन भएको छ र त्यसमा नेपाल आबद्ध भएको छ। तर, अरु कुनै पनि कुरामा नेपालले समर्थन गरेको छैन।”
सञ्चारकर्मीको प्रश्नमा राईले नेपालले आफ्ना औपचारिक भनाइ मात्र लागू हुने उल्लेख गर्दै थपे, “अरु के भन्नेभन्दा पनि हामीले भनेको कुरामात्रै हुने हो।”
यससँगै नेपालले चीनसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्वतन्त्र नीतिलाई प्राथमिकता दिने सन्देश दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

