प्रधानमन्त्री ओलीद्वारा रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । चीनको तियानजिनमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्तो निम्तो दिएका हुन् ।
भेटवार्तामा दुबै नेताबीच नेपाल–रुस सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले जानकारी दिए । उनका अनुसार रुसी सेनामा नेपालीहरूको सहभागितासम्बन्धी विषयमा पनि कुराकानी भएको छ र ती विषयहरू कूटनीतिक माध्यममार्फत समाधान गर्ने सहमति भएको छ।
त्यसैगरी, नेपाल र रुसबीच सिधा हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे पनि छलफल भएको राईले बताए । यसलाई दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

