नेपालमा दर्ता प्रक्रिया अघि बढाउँदै मेटा, मन्त्रालयसँग कागजातको विवरण माग



काठमाडौँ, भदौ १९ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले बुधबार साँझ मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत आवश्यक विवरण मागेका हुन्। ठाकुरले भने, “पौने ५ बजे मेटाका प्रतिनिधिले इमेल पठाउनुभएको रहेछ। त्यसको ५ मिनेटभित्रै मन्त्रालयले सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ताका लागि आवश्यक पर्ने कागजातबारे जानकारी पठाइसकेको छ।”

नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जाल क्षेत्र तरंगित बनेको छ। सो निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सूचीकृत नभएका सञ्जाल सञ्चालन रोक्न पत्राचार गरिसकेको छ।

मेटाले नेपालमा दर्ता प्रक्रिया अघि बढाएको संकेतले अब फेसबुकसहितका लोकप्रिय सामाजिक सञ्जाल सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्