एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु



ललितपुर, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। विधानसम्बन्धी विषयलाई प्राथमिकता दिएर पछि वैचारिक बहस गर्ने नयाँ अभ्याससहित महाधिवेशन सुरु गर्न लागिएको हो।

महाधिवेशनमा दुई हजार ३४१ प्रतिनिधि सहभागी हुँदैछन्। सातदोबाटोदेखि गोदावरीसम्म १८ स्वागतद्वार निर्माण गरिएको छ भने बिजुलीका खम्बामा हँसिया–हथौडा र सूर्य चिह्न अंकित झन्डा टाँगिएको छ। यातायातका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ।

सभा हलभित्र डिजिटल प्रविधिको प्रयोग व्यापक गरिएको छ। २,८४० सिट क्षमता भएको हलमा छ वटा कम्प्युटर बुथमार्फत प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको परिचयपत्र स्क्यान गर्ने व्यवस्था मिलाइएको छ। हलभित्र प्रवेश गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पूर्णकद तस्बिर, संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका साथै कार्ल मार्क्स, एङ्गेल्स र लेनिनका तस्बिर सजाइएको छ।

उद्घाटन समारोह १२ मिनेटभित्र सकिने गरी कार्यक्रम तय गरिएको छ। कार्यक्रममा मङ्गल धुन, सहिद सम्झना, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाइनेछ। उद्घाटनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्बाट प्रतिवेदन प्रस्तुत गरिनेछ। भदौ २१ गते यी प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूहमा विभाजन गरिने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्