दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः बन्द हुने, २६ वटामाथि तत्काल प्रभाव
काठमाडौँ, भदौ २० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सम्पूर्ण सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने भएको छ। मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन निर्देशन दिएको हो।
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले “सूचीकृत भए वा सम्पर्कमा आए तत्काल पुनः सञ्चालन गर्न दिने” स्पष्ट पार्दै सरकारले सधैंका लागि सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य नराखेको बताए।
हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ गरी पाँच वटा सामाजिक सञ्जाल सूचीकृत भइसकेका छन् भने टेलिग्राम, ग्लोबल डाइरी र हाम्रो पात्रो प्रक्रियामा रहेका मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए। मन्त्रालयको अध्ययनअनुसार नेपालमा करिब २५ वटा सामाजिक सञ्जाल सक्रिय छन्।
“नेपालमा सञ्चालित कुनै पनि संस्था वा मिडियाजस्तै सामाजिक सञ्जाल पनि सूचीकृत भएर कानुनबमोजिम चलाउनुपर्छ,” प्रवक्ता ठाकुरले बताए। सूचीकृत नभएका प्लेटफर्महरूलाई बारम्बार जानकारी दिँदा पनि अटेर गरेपछि सरकारले बाध्य भएर यस्तो कदम चालेको उनको भनाइ छ।
यसबीच फेसबुकको मातृ कम्पनी मेटाले सरकारसँग सम्पर्क गरेको भन्ने खबरलाई मन्त्रालयले असत्य ठहर गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिइसकेको छ।
इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्णय कार्यान्वयन गर्ने र त्यसबाट उपभोक्तामा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेका छन्। नेपाल टेलिकम, एनसेल र वर्ल्डलिङ्कले निर्देशनअनुसारको कदम सुरु गरिसकेका छन्।
नेपालमा हाल १०८ इन्टरनेट प्रदायक कम्पनी क्रियाशील छन्। सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न २०८० मङ्सिर ११ गते निर्देशिका जारी गर्दै तीन पटक दर्ताका लागि सूचना निकालेको थियो।
निष्क्रिय हुने सामाजिक सञ्जालहरु फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर, लिङ्क्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस, मास्टडोन, रम्बल, मिवी, भिके, लाइन, इमो, जालो र सोल रहेका छन् ।

