नेपालमा २८ हजार क्षयरोगी उपचारबाहिर, वर्षमा १,२८० को मृत्यु



काठमाडौँ, भदौ २०। नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमानअनुसार ६८ हजार क्षयरोगीमध्ये २८ हजारभन्दा बढी उपचारमा नआएको तथ्याङ्क सार्वजनिक भएको छ। यता राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३९ हजार ११८ जनामा क्षयरोग पुष्टि हुँदा सोही अवधिमा १,२८० जनाको मृत्यु भएको छ।

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार ठूलो संख्यामा संक्रमित उपचारमा नआउँदा क्षयरोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यमा चुनौती थपिएको छ। नेपालले सन् २०३५ सम्ममा प्रति एक लाख जनसंख्यामा क्षयरोगीको संख्या १० र सन् २०५० सम्ममा एकभन्दा कममा झार्ने लक्ष्य लिएको छ।

क्षयरोग पुष्टि भएकामध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका छन् भने ५.६३ प्रतिशत १४ वर्षमुनिका बालबालिका हुन्। प्रदेशगत हिसाबले मधेशमा २५ प्रतिशत, बागमतीमा २३, लुम्बिनीमा २०, कोशीमा १२, सुदूरपश्चिममा ९, गण्डकीमा ७ र कर्णालीमा ४ प्रतिशत संक्रमित भेटिएका छन्।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ६२५ जनामा औषधि प्रतिरोधी क्षयरोग (डिआर टिबी) पुष्टि भएकोमा ३९७ जनाले मात्र उपचार थालेका छन्। बाँकी २२८ जना उपचारबाहिर छन्। डब्लुएचओले नेपालमा करिब २,८०० डिआर टिबी संक्रमित रहेको अनुमान गरेको छ। चिकित्सकका अनुसार अपूरो वा जथाभावी औषधि सेवन गर्दा डिआर टिबी बढ्ने गरेको छ।

छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार क्षयरोग माइको ब्याक्टेरियम ट्युबरक्लोसिस जीवाणुबाट हुने रोग हो जसले ८० प्रतिशत फोक्सोलाई असर गर्छ। संक्रमितले खोकी वा हाच्छिउँ गर्दा हावामार्फत अर्को व्यक्तिमा सर्ने यो रोग विशेष गरी कुपोषित बालबालिका, धूमपान गर्ने, मधुमेह तथा एचआईभी संक्रमितमा बढी देखिन्छ।

सरकारले क्षयरोगको परीक्षण, औषधि र उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ भने नवजात शिशुलाई बिसिजी खोप नि:शुल्क लगाइँदै आएको छ। तर, उपचारबाहिर रहेका हजारौं संक्रमितका कारण रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्य विशेषज्ञहरूको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्