१०२ वर्षीय जापानी कोकिचीले फुजी आरोहण गरी विश्वकै सबैभन्दा वृद्ध पर्वतारोहीको रेकर्ड
जापान, भदौ २१। जापानका १०२ वर्षीय कोकिची अकुजावाले देशको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गरी संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन्। गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा यो उपलब्धिलाई प्रमाणित गरेको हो।
आफ्ना छोरी, नातिनी र स्थानीय पर्वतारोहण क्लबका सदस्यसँगै ३७७६ मिटर अग्लो फुजी आरोहण गरेका अकुजावाले साथीहरूको सहयोग र निरन्तर अभ्यासका कारण लक्ष्य हासिल गर्न सफल भएको बताए। यसअघि उनले ९६ वर्षको उमेरमा पनि फुजी आरोहणको रेकर्ड कायम गरेका थिए।
अकुजावाले आरोहणलाई जीवनको सबभन्दा ठूलो प्रेरणा बताउँदै यसपटकको फुजी आरोहण सम्भवतः अन्तिम हुने संकेत गरेका छन्।

