सूडानको सुन खानी भत्किँदा ६ जनाको मृत्यु, २० जना फसेको आशंका



खार्तुम,भदौ २१ । सूडानको उत्तरी क्षेत्रमा अवस्थित एक सुन खानी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको र झण्डै २० जनासम्म खानीभित्रै फसेको आशंका गरिएको छ।

बेर्बर स्थानीय निकायका कार्यकारी निर्देशक हसन इब्राहीम करारका अनुसार शुक्रबार रिभर नाइल राज्यको बेर्बर सहर पश्चिमी उम आउद क्षेत्रमा खानी दुर्घटना भएको हो। “फसेकाहरूलाई उद्धार गर्ने प्रयास जारी छ,” करारले बताएका छन्। तर खानी किन भत्कियो भन्नेबारे अहिलेसम्म प्रष्ट जानकारी दिइएको छैन।

सन् २०२३ अप्रिलदेखि सेना र अर्धसैनिक ‘रापिड सपोर्ट फोर्स’ (RSF) बीच जारी युद्धकै बीचमा यो दुर्घटना भएको हो। दुवै पक्षले संघर्षलाई धान्न सुन उद्योगलाई प्रमुख स्रोत बनाएको बताइन्छ।

अधिकारी र गैरसरकारी संस्थाहरूका अनुसार सूडानको अधिकांश सुन संयुक्त अरब इमिरेट्स (UAE) मार्फत निर्यात हुन्छ। आरएसएफले त्यहीमार्फत हतियार आपूर्ति पाएको आरोप छ, तर इमिरेट्सले यसलाई अस्वीकार गरेको छ।

सरकारले २०२४ मा ६४ टन सुन उत्पादन भएको घोषणा गरेको भए पनि यहाँको धेरै सुन कच्ची खानी तथा साना खानीगत क्रियाकलापबाट निकालिन्छ। जहाँ पर्याप्त सुरक्षा उपाय नभएकाले खानीकर्मी र वरपरका समुदायहरू खतरनाक रसायनको प्रयोग र दुर्घटनाको उच्च जोखिममा रहेका छन्।

सूडानको युद्धले अहिलेसम्म हजारौंको ज्यान लिइसकेको छ। करिब १० लाख मानिस विस्थापित भएका छन् भने ४ लाखभन्दा बढीले छिमेकी मुलुकमा शरण लिएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार २५ लाखभन्दा बढी मानिस अहिले भोकमरीको उच्च जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस्