काठमाडौँमा इन्द्रजात्राको मुख्य दिन, राष्ट्रपति–प्रधानमन्त्रीसहित उच्च अधिकारीको अवलोकन
काठमाडौँ,भदौ २१। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थानसँगै सुरु भएको इन्द्रजात्रा (येँया) आज आफ्नो मुख्य दिनमा प्रवेश गरेको छ। वसन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक अङ्गका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूले जात्राको अवलोकन गरेका छन्। विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वागत गरेका थिए।
नेपालको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको इन्द्रजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा भव्य रूपमा मनाइन्छ। हिन्दू धर्म अनुसार वर्षा तथा सृष्टिका देवता इन्द्रको सम्मानमा आयोजना हुने यो पर्व नेवार समुदायको प्रमुख पर्व हो, तर सम्पूर्ण समुदायको सक्रिय सहभागिता रहने गर्छ।
आठ दिनसम्म चल्ने यस जात्राको पहिलो दिन यःसिं (लिङ्गो) ठड्याइने परम्परा छ, जसलाई इन्द्रको प्रतीकका रूपमा मानिन्छ। यस पर्वको मुख्य आकर्षण जीवित देवी कुमारीको रथयात्रा (कुमारी यात्रा) हो। साथै, लाखे नाच, दस अवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायतका विभिन्न सांस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिन्छन्।
इन्द्रजात्राले काठमाडौँ उपत्यकाको सांस्कृतिक विविधता र सामुदायिक एकतालाई झल्काउने महत्वपूर्ण अवसर प्रदान गर्ने मानिन्छ।

