नुवाकोटको कल्याणपुरमा बाढीले अवरुद्ध सडक दुई दिनपछि सञ्चालन आयो



नुवाकोट, भदौ २२ । नुवाकोटको पश्चिमी भेग कल्याणपुरमा बाढीका कारण अवरुद्ध सडक दुई दिनपछि सञ्चालनमा आएको छ। शुक्रबार बेलुकी अविरल वर्षासँगै आएको बाढीले पिच सडक बगाएपछि आवागमन ठप्प भएको थियो।

शनिबार बिहानदेखि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको पहलमा दुईवटा हेभि इक्युपमेण्ट परिचालन गरी मर्मतकार्य सुरु गरिएकाले सडक अस्थायी रूपमा सञ्चालनमा आएको हो। मेयर श्रेष्ठका अनुसार सडक एकतर्फी रूपमा खुलाएपछि आवागमन सहज भएको छ।

विदुर नगरपालिका–८ र १३ को बीचमा पर्ने खुर्सानेखोलाले पुल छेउको करिब १० मिटर पिच सडक बगाएपछि यातायात अवरुद्ध भएको थियो। स्थानीय श्याम ओझाका अनुसार अविरल वर्षासँगै आएको बाढीले पुल पश्चिमतर्फको सडक कटान गरेको हो।

उक्त सडक नुवाकोटको सामरीलगायत उत्तरी धादिङ जाने मुख्य मार्ग हो। दैनिक ६० वटा बस, ट्रक, अन्य सवारीसाधन र करिब पाँच सय मोटरसाइकल चल्ने यो सडक अवरुद्ध हुँदा यात्रुहरू दुई दिनसम्म ठूलो मर्कामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्