मेची खोलामा डुबेर पुरुषको मृत्यु



झापा, भदौ २२ । भद्रपुर नगरपालिका–३ भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२:२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकाले पनि उनी मृतावस्थामै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रनाउ खड्काका अनुसार मृतक कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६२ वर्षीय सोनुलाल मुर्मु हुन्। मुर्मु भारतस्थित छोरीको घर जाँदै गर्दा मेची खोला तर्ने क्रममा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्