आज खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा नेपालबाट देखिने
काठमाडौँ, भदौ २२ । यस वर्षको पहिलो चन्द्रग्रहण आज शुक्ल पूर्णिमाका दिन लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण नेपालबाट अवलोकन गर्न सकिनेछ।
समितिले स्वीकृति दिएको पञ्चांगअनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई ११ बजेर ५६ मिनेटमा मध्य हुने र राति १ बजेर ४१ मिनेटमा सकिनेछ। प्रा. श्रीकृष्ण अधिकारीका अनुसार काठमाडौंसहित नेपालका विभिन्न भूभागबाट करिब साढे तीन घण्टा ग्रहण स्पष्ट देखिनेछ।
यो २०८२ सालको पहिलो ग्रहण हो। समितिले आउँदो फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने जनाएको छ।
शास्त्रीय परम्पराअनुसार ग्रहणको दिन बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भोजन निषेध गरिएको प्रा. अधिकारीले बताए। आइतबार दिउँसो १ बजेर ११ मिनेटपछि स्वस्थ व्यक्तिहरूले भोजन गर्नु नहुने धार्मिक मान्यता रहेको उल्लेख गरिएको छ।
चन्द्रग्रहण सामान्यतया पूर्णिमाका दिन र सूर्यग्रहण औँसीका दिन लाग्ने खगोलीय घटना हो।

