सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युथ कांग्रेस नेपालको प्रदर्शन, पाँच सदस्य पक्राउ
काठमाडौँ,भदौ २२ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा युथ कांग्रेस नेपालले शनिबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संघीय संसद भवनअगाडि दिउँसो करिब ४ बजेतिर भएको प्रदर्शनका क्रममा प्रहरीले संगठनका पाँच जना सदस्यलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा युथ कांग्रेस नेपालका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष बिराज अर्याल, केन्द्रीय समिति सदस्य सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य अशिष शर्मा रहेका छन्।
संगठनले आफ्ना सदस्यको पक्राउप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो आन्दोलन पूर्णतः शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक अधिकारको रक्षार्थ गरिएको प्रदर्शन हो। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका आवाजलाई दबाउने कुनै पनि प्रयास अस्वीकार्य छ।”
युथ कांग्रेस नेपालले पक्राउ परेका सबै सदस्यहरूको तत्काल र शर्तविहीन रिहाइको माग गरेको छ। साथै भविष्यमा शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक ढंगले रोक्ने प्रयास नगर्न सम्बन्धित निकायलाई सचेत गराइएको छ।
प्रदर्शनमा सहभागीहरूले मुखमा मास्कसहित कालो टेप लगाएका थिए। साथै, ‘स्टाटस लेख्न नपाउने भए मन्त्रीजीको भाषण पनि म्युट गर’, ‘प्रतिबन्ध होइन, ऐनमार्फत नियमन गर’, ‘भाषणमा डिजिटाइजेसनको नारा, सोसल मिडिया बन्द गरेर के हो पारा’ भन्ने नारा अंकित पम्प्लेट बोकेर विरोध जनाएका थिए।

