अमेरिकी भन्सार नीतिले नेपाली तयारी पोसाक र पस्मिना निर्यात बढ्ने सम्भावना
काठमाडौँ, भदौ २२ । अमेरिकाले भारत, बङ्गलादेश र भियतनाममा उच्च भन्सार महसुल लगाएको नीतिले नेपालको तयारी पोसाक, पस्मिना, गलैँचा र जडीबुटी निर्यात बढ्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशत तथा बङ्गलादेश र भियतनामलाई २०/२० प्रतिशत भन्सार शुल्क तोकेपछि ती मुलुकका उत्पादन महँगो हुने भएकाले नेपालबाट सस्तोमा अमेरिकी बजारमा निर्यात गर्न सकिने अपेक्षा गरिएको हो।
नेपाल तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार भारत र बङ्गलादेशका सयौँ व्यापारीले नेपालमा प्रत्यक्ष लगानी गर्ने चासो देखाएका छन्। “आव २०८१/८२ मा नौ अर्ब ९४ करोड रुपैयाँको तयारी पोसाक निर्यात भएको थियो। सरकारले लगानीमैत्री वातावरण बनाउन सके निर्यात सय गुणा बढाएर व्यापार घाटा कम गर्न सकिन्छ,” अध्यक्ष पाण्डेले बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकी भन्सार नीतिले नेपालको वस्त्र उद्योगका लागि ठूलो अवसर बनेको भन्दै यसलाई सदुपयोग गर्न सरकार तयार रहेको जानकारी दिए । उनले नगद अनुदान, पूर्वाधार विकास र विदेशी लगानी आकर्षित गर्ने नीतिगत पहल गरिने बताए।
व्यापार विज्ञ रविशंकर सैंजुले पनि अमेरिकी नीति अस्थायी भए पनि नेपालले तत्काल लाभ लिन उत्पादन क्षमता, लजिस्टिक पूर्वाधार र सहजीकरणमा सुधार गर्नुपर्ने धारणा राखेका छन्।
भन्सार विभागको तथ्याङ्कअनुसार आव २०८१/८२ मा नेपालले १८ अर्ब ३२ करोड रुपैयाँ बराबरको निर्यात गर्दा २५ अर्ब ९६ करोडको आयात भएको थियो। अमेरिकासँग मात्रै सात अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ।
अमेरिकाले लगाएको भन्सार महसुलका कारण नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढेको र तयारी पोसाक, गलैँचा, जुत्ता तथा जडीबुटी उद्योगमा छलफल सुरु भइसकेको सङ्घले जनाएको छ। यसले आगामी तीनदेखि पाँच वर्षभित्र निर्यात वृद्धि गर्दै व्यापार घाटा घटाउने सम्भावना प्रबल रहेको बताइएको छ।

