सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीको प्रदर्शनलाई बालेन साहको समर्थन



काठमाडौँ, भदौ २२ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि (आइतबार) हुन लागेको जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू उमेर हदबन्दीका कारण प्रदर्शनमा सहभागी हुन नसके पनि आन्दोलनको भावना बुझ्न जरुरी रहेको टिप्पणी गरेका छन्।

साहले लेखेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा जेनजीको हो, उहाँहरू २८ वर्षमुनिका हुनुहुन्छ, जसका लागि म पनि अझै बूढो देखिन्छु। उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ। भोलिको यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न नआउनु होला।”

साहले आफूले व्यक्तिगत रूपमा र्‍यालीमा प्रत्यक्ष सहभागिता जनाउन नसके पनि भरपूर समर्थन रहेको उल्लेख गर्दै जेनजीलाई “तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?” भन्ने प्रश्न पनि गरेका छन्।

सरकारले हालै फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि देशभर विरोध चर्किएको छ। यसअघि विभिन्न राजनीतिक दल, संगठन तथा आम नागरिकहरूले सामाजिक सञ्जाल बन्दबारे आपत्ति जनाउँदै सरकारलाई निर्णय फिर्ता लिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्