सरकारद्वारा भीपीएन प्रयोग नगर्न आग्रह
काठमाडौँ, भदौ २२ । सरकारले भीपीएन (VPN) प्रयोग नगर्न नागरिकलाई आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच पाउन असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउन अनुरोध गरेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराइएको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच पाउन भीपीएन प्रयोग नगर्नुहोस्।”
सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित बनाउन २०८० मा ल्याइएको ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका’ अनुसार सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन पालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण गर्न आह्वान गरेको छ। सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र दर्ता भएलगत्तै पुनः नेपालभित्र सञ्चालन गर्न सकिने मन्त्रालयले स्पष्ट पारेको छ।
यस्तै, हालसम्म ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ सूचीमा दर्ता भइसकेका छन् भने अमेरिकी कम्पनी एक्स (Twitter/X) र चिनियाँ कम्पनी वीच्याटले आवश्यक कागजात मागेको र विवरण पठाइसकेको मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आम नागरिकसँग सहयोग र जिम्मेवार व्यवहारको अपिल पनि गरेको छ।

