एमाले विधान महाधिवेशनमा सबै प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौँ, भदौ २२ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतिले पारित भएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपप्रधान एवम् अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो।
यस्तै, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रस्तुत गरेका प्रतिवेदनहरू पनि महाधिवेशनले पारित गरेको गौतमले जानकारी दिए।
“अध्यक्षले पटक–पटक विमति राख्ने कोही छ कि भनेर आग्रह गर्दा पनि उपस्थित प्रतिनिधिहरूले गडगडाहट तालीका साथ प्रतिवेदन पारित गरेका छन्,” गौतमले भने।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गतेदेखि सुरु भएको एमाले विधान महाधिवेशन आइतबार सम्पन्न भएको हो। महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूहमा छलफल भई सुझावहरू पेश गरिएको थियो।

