जेनजीको आन्दोलनले धैर्यता नगुमाउला भन्न सकिँदैन, सरकारको बेलैमा बुद्धि पलाओस्” – सांसद तामाङ



काठमाडौँ, भदौ २३–नुवाकोटका माओवादी केन्द्रका नेता तथा संघीय सांसद हितबहादुर तामाङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल नागरिकको वाक स्वतन्त्रताको महत्वपूर्ण माध्यम भएकाले सरकारले गरेको कदम गलत भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालबारे सर्वोच्च अदालतले अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र दुरुपयोग रोक्ने कानुनी प्रबन्ध गर्न निर्देशन दिएको भए पनि सरकारले त्यसको बहानामा कानुन बनाउनुभन्दा निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गरेको भन्दै उनले आपत्ति जनाएका छन्।

“आवश्यक कानुन बनाएर सर्वपक्षीय सहमति जुटाएर नागरिकको वाक स्वतन्त्रता कुण्ठित नहुने सुनिश्चित गर्नुपर्ने हो, तर सरकारले त्यस्तो नगरी सामाजिक सञ्जाल बन्द गरेर पश्चगामी बाटो समातेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

तामाङका अनुसार सामाजिक सञ्जाल नागरिकलाई आफ्ना विचार व्यक्त गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र राज्यलाई जबाफदेही बनाउन उपयोगी मञ्च बनेको छ। यसलाई बन्द गर्दा विद्यार्थी, अनुसन्धानकर्तादेखि डिजिटल व्यवसायसम्म सबै प्रभावित भएको उनले बताए।

उनले भने, “सामाजिक सञ्जालमा लगाइने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार मात्र होइन, अर्थतन्त्रलाई समेत नकारात्मक असर पार्छ।”

सरकारलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गर्दै सांसद तामाङले सामाजिक सञ्जाललाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित कानुन छिट्टै बनाउनुपर्नेमा जोड दिए। “त्यस्तो कानुन बनाउन प्रतिपक्ष पनि रचनात्मक भूमिका खेल्न तयार छ,” उनले स्पष्ट पारे।

यस्तै उनले चेतावनी दिँदै भने, “अन्यथा आजदेखि सुरु हुने भनिएको जेनजी पुस्ताको आन्दोलनले धैर्यता नगुमाउला भन्न सकिँदैन, सरकारले बेलैमा बुद्धि पलाओस्।”

प्रतिक्रिया दिनुहोस्