दसैँका लागि खाद्य कम्पनीद्वारा १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री हुने
काठमाडौँ,भदौ २३। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा उपभोक्तालाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउन १,५०० खसीबोका र ३०० च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार चाडपर्वमा खसीबोकाको मूल्य बढ्ने हुँदा बजार हस्तक्षेप गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँ बजेट छुट्याएर खरिदबिक्री गर्न लागिएको हो। माग बढी भए सङ्ख्या थप गर्न सकिने कम्पनीले जनाएको छ।
मुस्ताङबाट च्याङ्ग्रा र नवलपुर, हेटौँडा तथा दाङबाट खसीबोका ल्याइने तयारी भइरहेको छ। घटस्थापनाको दिनमै काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्र्याइने जनाइएको छ।
अनलाइन बुकिङ प्रणालीमार्फत खरिद गर्न खसीबोकाका लागि ४,००० रुपैयाँ र च्याङ्ग्राका लागि ५,००० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। भदौ ३० सम्म खुला रहने बुकिङमा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिनेछ।
खसीबोका र च्याङ्ग्राको अन्तिम मूल्य तौल अनुसार निर्धारण हुनेछ। २०–२५ किलो, २५–३० किलो, ३०–३५ किलो र ३५–४० किलो तौल समूहमा छनोटको सुविधा दिइएको कम्पनीले जनाएको छ। अग्रिम भुक्तानी गरिएको रकम अन्तिम बिलमा कटाइनेछ।
बुक गरिएका खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिनेछ। बुकिङको क्रममा उपभोक्ताले आफूलाई सहज हुने मिति छनोट गर्न सक्नेछन्। भुक्तानी पूरा भएपछि एसएमएसमार्फत कोड र पशु बुझ्ने मितिको जानकारी पठाइनेछ।
साथै, कम्पनीका सुपथ मूल्य पसलमार्फत खरिद गर्दा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउने जनाइएको छ।

