नुवाकोटमा लिखु खोलाले बगाएर बालिका बेपत्ता, खोजी प्रयास जारी
नुवाकोट,भदौ २३। लिखु गाउँपालिका–४ नयाँबस्तीमा आइतबार साँझ घाँस काट्ने क्रममा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्।
क्षेत्रपाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया रश्मी श्रेष्ठ लिखु खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। छहरे प्रहरी चौकीका अनुसार श्रेष्ठ घाँस काट्न साथीहरूसँग गएकी थिइन्।
घटनापछि राति नै खोजी सुरु भए पनि हालसम्म फेला परेकी छैनन्। उनी अध्ययनरत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीका अनुसार सोमबार बिहानदेखि स्थानीयवासी, शिक्षक र प्रहरीको टोलीले खोजी कार्यलाई तीव्र पारेका छन्।
सुवेदीले सबैलाई सक्दो सहयोग गरेर खोजी कार्यमा सहभागी हुन आग्रह गरेका छन्। स्थानीयले लिखु गड्खार पुल आसपास क्षेत्र केन्द्रित गरेर खोजी कार्य अघि बढाइरहेका छन्।
बेपत्ता बालिकाको सकुशल उद्धार होस् भन्ने प्रार्थना र अपिलसमेत विद्यालय समुदायले गरेको छ।

