आजदेखि सोह्र श्राद्ध आरम्भ
काठमाडौँ,भदौ २३ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार)देखि विधिवत् आरम्भ भएको छ।
यस अवसरमा पशुपतिनाथलगायत देशभरका विभिन्न मठमन्दिरमा पूजाअर्चना गरी श्रद्धालुहरूले सोह्र श्राद्ध मनाउन सुरु गरेका छन्।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गर्ने प्रथा रहेको छ। यस कारण यसलाई सोह्र श्राद्ध भनिएको हो।
धार्मिक मान्यताअनुसार, सोह्र श्राद्ध गर्नु पितृप्रतिको दायित्व पूरा गर्नुका साथै पितृऋणबाट मुक्त हुने माध्यम हो। श्रद्धालुहरू यस अवधिभर विभिन्न मठमन्दिरमा गई विधिपूर्वक पितृको स्मरण र श्राद्ध गर्न जुट्ने गर्दछन्।

