प्रहरीको अन्धाधुन्ध बलप्रयोगले त्रासदी : मानवअधिकारकर्मीको निष्कर्ष



काठमाडौं,भदौ २३ । मानवअधिकारकर्मीहरूले सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक मात्रामा अन्धाधुन्ध र असमानुपातिक घातक बल प्रयोग गरेको ठहर गरेका छन्। उनीहरूका अनुसार घातक बलकै प्रयोगका कारण दर्जनभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।

जवाफदेही निगरानी समितिले पूर्वघोषित आन्दोलन देशव्यापी रुपमा भड्किन सक्ने र घुसपैठको जोखिम उच्च रहे पनि सरकार आन्दोलनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन असफल भएको निचोड निकालेको छ। समितिले विज्ञप्तिमार्फत भनेको छ, “सरकार पूर्णतः असफल भएकै कारण आज नितान्त दुःखद् र त्रासदीपूर्ण घटना भएको हो भन्ने जवाफदेहिता निगरानी समितिको प्रारम्भिक ठहर छ।”

समितिले बलप्रयोगका स्थापित मुल्यमान्यतामाथि धज्जी उडाउँदै नागरिकको ज्यानमै ठूलो क्षति हुने गरी घटना भएको भन्दै यसको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेको छ। साथै, घटनाप्रति क्षमा माग्दै सञ्चार तथा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने मागसमेत समितिले गरेको छ।

समितिले राष्ट्रिय मानव अधिकार आयोग पनि आफ्नो भूमिकामा असफल भएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघन रोकथामका लागि आवश्यक पहल नगरेको भन्दै आयोगलाई पनि कठोर आलोचना गरिएको छ।

समितिका संयोजक राजु चापागाई, सहसंयोजक राजन कुईकेल र रुक्मिनी महर्जन, सदस्यहरू चरण प्रसाई, डा. गौरीशंकर लाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याललगायतले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदर्शनमा भएको दमनको विरोध गरेका छन्।

उनका अनुसार सामाजिक, आर्थिक, मनोवैज्ञानिक, शैक्षिकलगायत आयाममा युवामा प्रतिकूल असर पर्न सक्ने चेतावनीलाई बेवास्ता गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गरेको थियो। त्यसको चौतर्फी विरोध भए पनि सरकारले पुनर्विचार नगरेको र प्रधानमन्त्री तथा मन्त्रीहरूले दिएको हठपूर्ण अभिव्यक्ति समेत घटनाको मूल कारण भएको समितिको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्