ठूलो जनधनको क्षतिपछि गृहमन्त्री लेखकले पदमा नबस्ने घोषणा
काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने निर्णय पार्टी नेतृत्वलाई औपचारिक रूपमा जानकारी गराएका छन्। सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो बताएका हुन्।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार लेखकले आजको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिनुपर्ने बताए। उनले भने, “आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो। मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ।”
उनको यो अभिव्यक्तिलाई पार्टीभित्र गम्भीर रूपमा लिइएको छ। अहिले घटनापछि उत्पन्न परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कांग्रेस नेतृत्व तहमा छलफल भइरहेको बताइएको छ।

