एक्सले नेपालमा दर्ता नगर्ने, प्रधानमन्त्री ओली आक्रोशित
काठमाडौँ,भदौ २४— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ (पहिलेको ट्विटर) ले नेपालमा दर्ता नगर्ने निर्णय गरेको छ। अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्न नसक्ने भन्दै एक्सले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको हो।
सो पत्र सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव एकनारायण अर्यालमार्फत मन्त्रीहरुलाई पढेर सुनाएका थिए। पत्र पढेपछि प्रधानमन्त्री ओली क्रुद्ध बनेको स्रोतले जनाएको छ।
‘भ्रष्टाचार भएको देशमा दर्ता गर्न आउँदैन भनेर भन्नु ? हामीले उल्टै दर्ता गरेर नाफा कमाउनुहोस् भनेका छौँ, तर सार्वभौम मुलुकलाई त्यसरी अपमानजनक भाषा प्रयोग गर्न कसरी सक्छन् ?’ ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले बताए।
पत्र सुनेपछि प्रधानमन्त्रीले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध यथावत् राख्ने निर्णय मन्त्रीहरुलाई सुनाएका थिए।
तर, प्रतिबन्ध फुकाउने निर्णय नभएपछि कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्रीसँग भेटेर सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएका थिए। त्यसपछि संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई सामाजिक सञ्जाल खोल्न निर्देशनात्मक पत्र पठाएको स्रोतले जनाएको छ।

