जेनजी आन्दोलनको घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा



काठमाडौँ,भदौ २४ — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार भएको जेनजी आन्दोलनमाथि सरकारको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले आन्दोलन नियन्त्रण गर्ने नाममा भएको चरम दमनलाई अक्षम्य भन्दै सरकारको शैली कुनै कोणबाट पनि जायज नठहरिने बताए।

‘यस घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। युवापुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि भएको हिंसात्मक गतिविधि दुःखद र अस्वभाविक छ,’ उनले भने, ‘यसरी अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको हृदयविदारक घटनाले स्तब्ध बनाएको छ।’

थापाले गृहमन्त्रीले राजीनामा दिए पनि त्यो पर्याप्त नभएको टिप्पणी गरे। उनका अनुसार घटनाको नैतिक र राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्छ।

यस्तै उनले कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्य नै समाप्त भएको भन्दै पुनर्विचार गर्नुपर्ने धारणा राखे। ‘जनतालाई सुशासन दिने भनिएको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन दिन असफल भएको छ, त्यसैले गठबन्धन रहिराख्नुको आवश्यकता छैन,’ उनले स्पष्ट पारे।

थापाले युवाले आन्दोलनमार्फत उठाएका विषयहरू आम सरोकारका भएको भन्दै तत्काल भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे। साथै, २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरेर द्रुत गतिमा अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्