सरकारले सामाजिक सञ्जाल खोल्ने निर्णय गर्यो
काठमाडौँ,भदौ २४ — सरकारले अवरुद्ध गरिएको सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा उनले सामाजिक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका स्रोतले बताएका छन्।
सरकारको पछिल्लो निर्णयसँगै अवरुद्ध रहेका सामाजिक सञ्जाल क्रमशः सञ्चालनमा आउने भएका छन्।

