‘जेनजी’ आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न सबै संघीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ,भदौ २४ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउन मातहतका सबै संघीय अस्पताललाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, घाइतेको अवस्था जस्तोसुकै भए पनि आवश्यक पर्ने शल्यक्रियासहित सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था गरिएको छ। उनले मन्त्रालय उच्च सतर्कतामा रहेको बताउँदै संघीय अस्पतालहरूलाई जीवनरक्षात्मक औषधि, शल्यक्रिया तथा उपचार सेवा निःशुल्क उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए।
त्यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन तथा आवश्यक परेमा विभिन्न स्थानमा सहजै उपलब्ध हुने व्यवस्था मिलाउन आदेश दिएको छ। रगत आपूर्तिमा कमी पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई रक्तदान गर्न सार्वजनिक अपिल समेत गरेको छ।

