जेनजी आन्दोलन : देशभर १९ जनाको मृत्यु, सयौँ घाइते, काठमाडौँसहित विभिन्न जिल्लामा कफ्र्यु जारी



काठमाडौँ, भदौ २४ — सुशासन र पारदर्शिताको मागसहित भएको जेनजी पुस्ताको आन्दोलनमा सोमबार १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। काठमाडौँमा मात्रै १७ जनाले ज्यान गुमाएका छन् भने सुनसरीमा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। माइतीघरदेखि नयाँबानेश्वरतर्फ शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा आपराधिक घुसपैठ भएपछि संसद भवन परिसरमा आगजनी, तोडफोड र झडप भएका थिए। प्रहरीले अश्रुग्यास, पानीको फोहरा र गोली चलाएर भिड नियन्त्रणमा लिन खोज्दा काठमाडौँलगायत विभिन्न जिल्लामा दुई सयभन्दा बढी नागरिक र सुरक्षाकर्मी घाइते भएका छन्।

सरकारले काठमाडौँ, सुनसरी, रुपन्देही, पर्सा, पोखरा लगायतका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ। गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड हुँदा केही घाइते भएका छन् भने पाँचथरको फिदिममा भने शान्तिपूर्ण प्रदर्शन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३४७ जनाको उपचार भइरहेको छ। संघीय अस्पतालहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ भने रक्तदानका लागि अपिल गरिएको छ। आन्दोलनकै कारण राष्ट्रिय सभाको सोमबारको बैठक पनि स्थगित भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्