जेनजी आन्दोलनमा निधन भएका युवाप्रति श्रद्धाञ्जली, नुवाकोटका निजी विद्यालय दुई दिन बन्द



नुवाकोट,भदौ २४— देशभर जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति शिक्षासम्बन्धी प्रमुख संघ–संस्थाहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाल मान्यता प्राप्त सामुदायिक विद्यालय संगठन (नेमस), एसोसिएसन अफ प्राइवेट एजुकेशन नेटवर्क (एपेन), हिमालयन स्कूल असोसिएसन (हिसान), नेपाल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आन्दोलनमा घाइते भएका विद्यार्थी तथा युवाको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ। साथै, शैक्षिक संस्थाहरूले आज र भोलि दुई दिन शोकका रूपमा देशभर शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेका छन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी सबैले सयम्य र धैर्यतासहित वर्तमान परिस्थितिको सामना गर्दै सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सक्ने भूमिका निर्वाह गर्न आवश्यक छ।” साथै, शिक्षाप्रेमी, विद्यार्थी, शिक्षक र नागरिक समाजलाई शान्तिपूर्ण वातावरण कायम राख्न सबै तह र पक्षले सहयोग पुर्‍याउन अपिल गरिएको छ।

नुवाकोटमा समेत निर्णयअनुसार निजी विद्यालयहरू दुई दिनका लागि बन्द रहने भएका छन्।

यसैबीच नुवाकोटको लिखु गाउँपालिकाका प्रधानाध्यापकहरुको संयुक्त बैठकले आज एकदिन स्वतस्फूर्त रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै आन्दोलनका क्रममा मृत्युवरण गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्