नुवाकोटमा जेनजी प्रदर्शन, छहरे–टोखा सडक हुँदै सरकारी गाडीलाई प्रवेश निषेध



नुवाकोट,भदौ २४— देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन नुवाकोटको छहरेमा पनि सुरु भएको छ। नुवाकोट र रसुवा प्रवेश गर्ने मुख्य मार्ग मानिने छहरे–टोखा सडक खण्डमा सोमबार स्थानीय युवाहरूले टायर बालेर सडक अवरुद्ध गर्दै ठप्प पारेका छन्।

आन्दोलनमा सहभागी स्थानीयहरूले बट्टार–छहरे–टोखा नाका हुँदै काठमाडौं जाने बाटोमा सम्पूर्ण सरकारी गाडीलाई रोक लगाउने चेतावनी दिएका छन्। सेना, प्रहरी र सशस्त्र प्रहरीसहितका सबै प्रकारका सरकारी सवारी साधनलाई काठमाडौं प्रवेशमा निषेध गरिएको प्रदर्शनकारीहरूले बताएका छन्। उनीहरूले ‘भ्रष्ट सरकार मुर्दाबाद’ र ‘मानव हत्या बन्द गर’ जस्ता नारा लगाएका छन्। त्यस्तै नुवाकोटको बट्टार बजारमा पनि स्वतस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरेका छन् ।

सोमबार जेनजी पुस्ताले भ्रष्टाचार, ‘बेबी नेपो’ र सामाजिक सञ्जाल बन्दविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। तर, शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई सरकारले व्यापक दमन गरेको भन्दै आलोचना भएको छ। प्रहरी दमनका कारण काठमाडौंमा मात्र कम्तीमा १९ युवाको मृत्यु भएको र कैयौं घाइते भएको तथ्य सार्वजनिक भएको छ।

मानवीय क्षतिको चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। आन्दोलन भड्किएपछि काठमाडौंसहित विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्