जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा



काठमाडौँ,भदौ २४— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले जेनजी पुस्ताले हिजो गरेको प्रदर्शनमा सरकारको दमनप्रति आक्रोश व्यक्त गर्दै पद त्याग गरेका हुन्।

अधिकारीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग ‘युद्धजस्तो व्यवहार’ भएको भन्दै त्यसबारे जवाफ खोजिनुपर्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन।”

उनले निर्दोष विद्यार्थी र युवामाथि भएको गोलीप्रयोग र हिंसाले आफूलाई गहिरो पीडा दिएको भन्दै यसलाई सरकारमा बसिरहँदा स्वीकार गर्न नसक्ने बताएका छन्। “स–साना कलिला छोराछोरीको हत्या र दमनपछि देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने चेतावनी मेरो अन्तरात्माले दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

मन्त्री अधिकारीले सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै, जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्