पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन
काठमाडौँ,भदौ २४ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ।
सोमबार प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगजनी गर्दा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको नेतृ दिलु पन्तले जानकारी दिइन्।
घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि कीर्तिपुर लगिएकोमा चिकित्सकहरूले बचाउन नसकेका हुन्।
आगो लाग्दा घरमा ठूलो क्षति पुगेको बताइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

