जेनजी आन्दोलन : २३ को मृत्यु, सिंहदरबारसहित प्रमुख सरकारी संरचनामा आगजनी



काठमाडौँ, भदौ २५ — नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि मुलुकभर अकल्पनीय जनधनको क्षति भएको छ। सोमबार बिहान माइतीघरलगायत देशका विभिन्न सहरबाट सुरु भएको प्रदर्शन उग्र बन्दा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ भने सयौँ घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्।

आन्दोलन उग्रिँदै जाँदा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटर, सर्वोच्च अदालत, जिल्ला अदालतलगायत सिंहदरबार परिसरमा आगजनी गरेका छन्। आगलागीबाट सिंहदरबारको ऐतिहासिक संरचना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका मन्त्रालयहरूमा रहेका भौतिक सम्पत्ति र अभिलेख नष्ट भएका छन्।

सिंहदरबारलाई इसं १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निजी निवासका रूपमा निर्माण गरेका थिए। एक हजार सात सय कोठा रहेको यस दरबारमा २००७ सालपछि नेपाल सरकारका कार्यालयहरू सञ्चालन हुँदै आएका छन्। २०३० सालको ठुलो आगलागी र २०७२ को भूकम्पपछि पुनर्निर्माण गरी प्रयोगमा ल्याइएको भवन फेरि पनि आगोले ग्रस्त भएको हो।

राजधानीका विभिन्न भागमा सरकारी तथा निजी भवन, पार्टी कार्यालय र व्यवसायिक केन्द्रहरू समेत प्रदर्शनकारीको निशानामा परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी इकाइहरूमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ, तर विस्तृत विवरण संकलन हुन बाँकी छ।

प्रत्यक्षदर्शीहरूका अनुसार महाराजगन्जमा चार जना र कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको छ भने नयाँ बानेश्वर र कालीमाटी क्षेत्रका प्रहरी प्रभागहरूमा पनि ठूलो क्षति पुगेको छ। प्रदर्शनकारीहरूले नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलगायतका सञ्चारगृहमा समेत आक्रमण गरेका छन्।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय, एमाले, माओवादी केन्द्रलगायत दलका कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रवेश गरी देउवा र उनकी पत्नी डा. आरजु राणामाथि आक्रमण हुँदा दुवै गम्भीर घाइते भएका छन्। त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाको घरमा पनि आगजनी र तोडफोड भएको छ।

प्रतिक्रिया दिनुहोस्