भीमफेदी कारागारबाट २६० कैदीबन्दी फरार, सेनाको गोली लागेर दुई घाइते
मकवानपुर, भदौ २५ — मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्। राति १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीन वटा गेट फुटाउँदै पश्चिमतर्फको पर्खाल भत्काएर भागेका कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए।
‘क’ ब्लकमा ५ सयभन्दा बढी कैदीबन्दी रहेकामा करिब २३० जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले बताए। फरार कैदीहरूको खोजी कार्य जारी छ।
कारागारभित्र नियन्त्रणमा लिन सुरक्षाकर्मी र कैदीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो। सेनाले स्थिति नियन्त्रणका लागि करिब २०० राउण्ड हवाई फायर गरेको र गोली लागेर दुई कैदीबन्दी घाइते भएको पुष्टि गरिएको छ। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
कारागारबाट भाग्ने क्रममा कैदीहरूले गाडी चलाउने प्रयास गर्दा टायरमा गोली चलाउँदा तीमध्ये दुई जनालाई लागेर घाइते भएको जनाइएको छ। त्यसक्रममा कैदीहरूले कारागारभित्र तोडफोड र आगजनी पनि गरेका थिए।
यस्तै, सशस्त्र प्रहरीले समेत २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा ल्याएको कारागार प्रशासनले जनाएको छ। कारागारको ‘ख’ ब्लक भने सुरक्षित रहेको बताइएको छ।

