काठमाडौं उपत्यकामा भदौ २७ गतेसम्म कर्फ्यू आदेश जारी
काठमाडौं,भदौ २५— नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाका लागि निषेधाज्ञा र कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएको हो।
निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। त्यसपछि बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहनेछ।
सेनाले जनाएका अनुसार कर्फ्यू तथा निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न सकिनेछ। एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडीहरूलाई भने रोक लगाइने छैन।



