कांग्रेस महामन्त्रीद्वयद्वारा राष्ट्रपतिका पहलको स्वागत, संवादमार्फत समाधान खोज्न आग्रह
काठमाडौं,भदौ २६ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत समाधान दिन राष्ट्रपतिले अघि सारेको पहलको स्वागत गरेका छन्।
दुवै नेताले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षसँग परामर्श गरी शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्। उनीहरूले नेपाली सेनालगायत सबै सुरक्षा निकायको शान्ति–व्यवस्था कायम गर्ने प्रयासलाई प्रशंसा गर्दै आमनागरिक, नागरिक समाज, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय समुदायसमेतलाई सहयोगका लागि अपिल गरेका छन्।
जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका होनहारप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका उनीहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भदौ २३ र २४ मा भएका घटनापछि शान्ति र पुनर्निर्माणतर्फ अघि बढ्न संयम र एकताको खाँचो रहेको उनीहरूको भनाइ छ।
महामन्त्रीद्वयले लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुदृढ बनाउन सबै गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। “आवश्यकताको सिद्धान्त” अन्तर्गत गरिने निर्णय पनि संविधानसम्मत वैधानिक बाटोबाट अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ।
सोमबारको प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै दुवै नेताले दोषीलाई उच्चस्तरीय छानबिनमार्फत कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्। साथै, सामाजिक सञ्जाल नखोल्ने र पदत्यागमा ढिलाइ गर्ने प्रधानमन्त्रीको निर्णयले स्थिति चर्काएको भन्दै खेद प्रकट गरेका छन्।
महामन्त्रीद्वयले सरकारी कार्यालय, मिडिया हाउस र व्यवसायिक प्रतिष्ठानमा गरिएको आगजनीप्रति दुःख प्रकट गर्दै त्यो आन्दोलनकारी युवाको घोषणाभन्दा बाहिर नियोजित तत्वको काम भएको दाबी गरेका छन्।
कांग्रेसलाई युवाको आकांक्षाअनुसार जिम्मेवार दलका रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उनीहरूले अहिलेको संकटबाट निस्कन संयम, संवाद र सामाजिक सद्भाव अपरिहार्य भएको औंल्याएका छन्।

