जेनजी आन्दोलनपछि देश नयाँ मोडमा, समाधानका लागि संवाद र वैधानिकतामा जोड
काठमाडौँ, भदौ २६ गते — जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, नयाँ सरकार गठनका विषयमा सुरु भएको राजनीतिक बहस र छलफलसँगै देश नवीन मोडमा पुगेको छ। २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध भदौ २३ र २४ गते भएको प्रदर्शनपछि सरकार ढलेपछि मुलुक नयाँ राजनीतिक गन्तव्यतर्फ उन्मुख भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच निरन्तर परामर्श भइरहेका छन्। उनीहरूले जेनजी पुस्तालाई विश्वासमा लिएर संवाद र सहमतिका माध्यमबाट निकास दिन गहन विमर्श गरिरहेका छन्। सेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्ससँग संवाद गरेका थिए भने बिहीबार पनि छलफललाई अघि बढाउने तयारी भएको छ।
जेनजी अभियन्ताले देशले निकास पाएको दाबी गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद् गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। साथै, प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, २०४६ पछि सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन र भ्रष्टाचारको मुद्दामा न्यायिक कारबाहीजस्ता विषयमा समेत छलफल भएको छ। सेनापति सिग्देलले अभियन्ता दुर्गा प्रसाईं र धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङसँग पनि परामर्श गरेका छन्।
यसबीच, प्रमुख दलहरूले पनि आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र वैधानिक बाटोबाट निकास दिनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले अघि सारेको पहलको स्वागत गरेका छन्। उनले विधिविहीनताले अराजकता निम्त्याउने चेतावनी दिँदै नयाँ राजनीतिक संरचना वैधानिक बाटोबाट नै अघि बढाउन आग्रह गरेका छन्।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले देशको विषम परिस्थितिमा समालिएर, एकताबद्ध भएर र दृढ विश्वासका साथ अघि बढ्न अपिल गरेका छन्। उनीहरूले संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता अनुरूप समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

