अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने जेन–जी नेपालको निर्णय
काठमाडौँ, भदौ २६ — राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। जेन–जी नेपालको एक समूहले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको उल्लेख गर्दै जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै आन्दोलन निष्कर्षमा पुग्ने जनाइएको छ।
विज्ञप्तिअनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई योग्य उम्मेदवार मानिए पनि उनले प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको हो। त्यस्तै, धरान उपमहानगर प्रमुख हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको जेन–जीले स्पष्ट गरेको छ।
यसअघि भर्चुअल छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा समर्थन देखिए पनि संविधानअनुसार न्यायाधीशहरू यस पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ।
अन्ततः नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेन–जी नेपालको विज्ञप्तिमा जनाइएको छ।

