देशभर कैदी नियन्त्रणमा सेनाको सक्रियता, १९२ जना पक्राउ
काठमाडौँ, भदौ २६ — नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि भागेका कैदीहरूलाई नियन्त्रणमा लिने कार्य तीव्र बनेको छ। भदौ २५ गते बेलुकी ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदी नियन्त्रणमा परेका छन्।
नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिइएको उल्लेख छ।
त्यसैगरी, कञ्चनपुरको चाँदनी नाकामा भारततर्फ जाँदै गरेका सात जना कैदीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ। एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना आफैँ कारागारमा उपस्थित भएका छन्।
रामेछापस्थित जिल्ला कारागारमा ‘बाहिर जान दिनु’ भन्ने मागसहित कैदीले गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते भएका छन्। सो घटनामा दुई कैदीको मृत्यु भएको छ।
यस्तै, काभ्रेपलाञ्चोकको बनेपा–९ नयाँ बस्तीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ। हालसम्म सेनाले ९४ नाल विभिन्न प्रकारका हतियार बरामद गरेको पनि जानकारी दिएको छ।

