राष्ट्रपतिलाई संक्रमणकाल अन्त्य गर्न पहल गर्न पत्रकार महासङ्घको आग्रह
काठमाडौँ, भदौ २६ — नेपाल पत्रकार महासङ्घले मुलुकको तत्कालको संक्रमणकालीन अवस्थाको शीघ्र अन्त्य गरी शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधान गर्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक पहल गर्न आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले आज विज्ञप्ति जारी गर्दै वर्तमान संविधानले तोकेको प्रक्रिया र संस्थामार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिएकी छिन ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले वार्ताका लागि जेन-जी प्रतिनिधिलाई आह्वान गरिसक्नुभएको सन्दर्भमा सुरक्षा निकायले सहजीकरण गरी अन्तरिम सरकार गठनको पहल राष्ट्रपतिबाट हुनुपर्छ।” यसका लागि पत्रकार महासङ्घलगायत छवटा पेसागत सञ्जाल सहजीकरणका लागि तयार रहेको पनि जनाइएको छ।
महासङ्घले सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयमार्फत हुनुपर्ने उल्लेख गर्दै जङ्गी अड्डाबाट होइन भन्ने आफ्नो स्पष्ट धारणा व्यक्त गरेको छ। पछिल्लो समय शान्ति–सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकाको सराहना गर्दै महासङ्घले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्न जरुरी रहेको बताएको छ।
युवा पुस्ताले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसँगै भएको प्रदर्शनका क्रममा निधन भएकाप्रति महासङ्घले श्रद्धाञ्जलि व्यक्त गरेको छ भने घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई निशाना बनाइएकोप्रति गहिरो दुःख प्रकट गरेको छ।
महासङ्घले मुलुकलाई निर्णायक मोडमा संवेदनशील र जिम्मेवार बन्न सबै सरोकार भएका पक्षलाई हार्दिक अपिलसमेत गरेको छ।

