सर्वोच्च अदालत आइतवारदेखि सेवा सुचारु गर्ने



काठमाडौँ, भदौ २६— जेनजी आन्दोलनका कारण रोकिएको सर्वोच्च अदालतको सेवा आइतवार (भदौ २९ गते)देखि पुनः सुचारु हुने भएको छ। अदालतले आज प्रेस विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको जानकारी दिएको हो।

आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यो निर्णय गरेको हो। विज्ञप्तिमा अदालतलगायत देशभरका अदालतहरूमा हालै भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण भवन, उपकरण, सवारीसाधन र महत्वपूर्ण कागजातहरूमा अकल्पनीय क्षति पुगेको उल्लेख छ। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू समेत करिब नष्ट हुन पुगेकोप्रति अदालतले गहिरो दुःख व्यक्त गरेको छ।

अदालतले संविधानले न्यायपालिकामा सुम्पेको दायित्व निर्वाह गर्दै, नागरिकका मौलिक हक र न्याय प्राप्त गर्ने अधिकारलाई सम्मानपूर्वक सम्बोधन गर्न यथाशीघ्र सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी, आगजनी र नष्ट हुनबाट जोगाइएका मिसिल कागजात तथा भौतिक स्रोत–साधनको संरक्षणमा खटिएका न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, विद्यार्थी, सुरक्षाकर्मी र नागरिकप्रति अदालतले हार्दिक धन्यवाद प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्