कारागारबाट फरार १४ हजारभन्दा बढी कैदी–थुनुवा फर्किन प्रहरीको आग्रह
काठमाडौँ,भदौ २६— प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनपछि देशभरका कारागार तथा प्रहरी कार्यालय तोडफोड र आगजनीका क्रममा फरार भएका कैदीबन्दी र थुनुवालाई तुरुन्तै आत्मसमर्पण गर्न अनुरोध गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय भुक्तान गरिरहेका कैदीहरूलाई सम्बन्धित कारागारमा तथा थुनुवाहरूलाई प्रहरी इकाइमा फर्किन आग्रह गरिएको जानकारी दिए ।
भदौ २३ गतेपछि भएको प्रदर्शनका क्रममा १४ हजारभन्दा बढी कैदी–थुनुवा भागेको प्रहरीले जनाएको छ। तर, त्यसमध्ये केही सय मात्र फर्किएका छन् भने केही पक्राउ परिसकेका छन्। बाँकीलाई यथाशीघ्र सम्बन्धित प्रहरी कार्यालय वा सुरक्षा निकायको सम्पर्कमा आउन आग्रह गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

