उपत्यकामा निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता



काठमाडौँ,भदौ २६— काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ। पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकालेका हुन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा लागू हुनेछ। त्यस्तै, सोही दिन बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिने भएको छ।

अत्यावश्यक आवतजावतका लागि भदौ २७ गते बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म समय छुट्याइएको निर्देशनालयले जनाएको छ। यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, औषधि ढुवानी गर्ने सवारीसाधन तथा सञ्चार प्रदायक कम्पनीका गाडी सञ्चालन गर्न सक्नेछन्।

त्यसैगरी, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सक्कल परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले भने टिकट देखाएर विमानस्थल पुग्न सक्नेछन्।

काठमाडौं उपत्यका बाहिरको अवस्थाबारे सम्बन्धित जिल्ला सुरक्षा समितिले परिस्थितिअनुसार निर्णय गर्ने जनाएको छ। सुरक्षाकर्मीहरूले शान्ति, सुरक्षा र उद्धारमा निरन्तर प्रतिबद्ध रहेको जनाउँदै आम नागरिकलाई सहयोग गर्न र तोकिएको समयमा कुनै जुलुस वा प्रदर्शन नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्