सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने सम्भावना, वार्ता निष्कर्षविहीन



काठमाडौँ,भदौ २७— जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने प्रारम्भिक सहमति बनेको छ। यससँगै नेपालको इतिहासमा पहिलोपटक महिला सरकार प्रमुख पाउने सम्भावना करिब निश्चित बनेको छ।

तर, संसद् विघटन गरेर कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने कि नगर्ने भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको वार्ता निष्कर्षविहीन बनेको हो। जेनजी पक्ष संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडानमा रहँदा पुराना दल र राष्ट्रपति रामचन्द्र पौडेल संसद्बाटै निकास खोज्नुपर्नेमा जोड दिए।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार वार्ता निष्कर्षमा नपुगेपछि शुक्रबार बिहान पुनः छलफलमा बस्ने सहमति भएको छ। यसअघि बुधबार जंगी अड्डामा भएको छलफलपछि जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकार प्रमुखका रूपमा सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्