नवयुवा आन्दोलनपछि सेना ‘कमान्ड’मा, राजधानीको सुरक्षा लयमा फर्किँदै
काठमाडौँ, भदौ २७ – नवयुवा (जेनजी) नेतृत्वमा देशभर भड्किएको आन्दोलन हिंसात्मक बन्दै अकल्पनीय जनधनको क्षति गरेपछि राजधानीसहित मुलुकको सुरक्षा अवस्था संकटमा पुगेको थियो। तर, मङ्गलबार रातिदेखि नेपाली सेनाले सुरक्षाको ‘कमान्ड’ सम्हालेसँगै आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधि रोकिँदै अवस्था बिस्तारै लयमा फर्किन थालेको छ।
हिंसात्मक प्रदर्शनका क्रममा ध्वस्त भएका सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका भवनमा लागेको आगो नियन्त्रणमा लिएर सरसफाइ सुरु भएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतले “शान्ति–सुरक्षा कायम गरी जनजीवन सामान्य बनाउनु हाम्रो पहिलो दायित्व हो” भन्दै सुरक्षातैनाथी बढाइएको जानकारी दिनुभयो।
यसैबीच काठमाडौँ महानगरपालिका र स्वयम्सेवी संस्थाहरूले सडक सफाइ, खरानी पखाल्ने र आवतजावत सहज बनाउन काम सुरु गरेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आन्दोलनकारीले प्रहरी युनिटमा गरेको क्षतिको यकिन विवरण आउन बाँकी छ, तर पुनः सञ्चालनको प्रयास सुरु भएको छ।
सेनाले बैंक तथा वित्तीय संस्थामा लुटपाट गर्ने समूह नियन्त्रणमा लिएको छ भने विभिन्न स्थानबाट लाखौँ रुपैयाँ र करिब ५० थान हतियार बरामद गरेको जनाएको छ। आन्दोलनमा लुटिएका वा फेला परेका हतियार तुरुन्त बुझाउन सेनाले आग्रह गर्दै, दुरुपयोग गर्ने वा नबुझाउनेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
सेनाले आन्दोलनका नाममा अराजक गतिविधि नगर्न आग्रह गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न सबैमा दायित्व बहन गर्न आह्वान गरेको छ।

