ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
ताप्लेजुङ, भदौ २७ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही टोलकी ९ वर्षीया याङजु शेर्पा र ९ वर्षीय मौसम लिम्बू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार बुधबार नारायणी माध्यमिक विद्यालयको निर्माणाधीन शौचालयका लागि खनिएको करिब ७–८ फिट गहिरो सेप्टी ट्याङ्कीमा जमेको पानीमा पौडी खेल्दा दुवै जना डुबेर मृत्युमुखी परेका हुन्।
घटनास्थलमै दुवैलाई मृत अवस्थामा फेला पारिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ।

